Aug 24, 2017

ग्रामिण बिकास बैक ः लाभांश बितरण

धेरैको नजरमा जगेडा कोष एउटा मृगतृष्णा बनेको छ | जगेडा कोषमा देखिने सबै रकम बाँडफाँडयोग्य हुन्न | यस्ता कोषमा कस्ता-कस्ता रकम राखिएका हुन्छन भनेर बुझ्न र थाहा पाउनको लागि कम्पनीको वार्षिक प्रतिवेदन अध्ययन गर्नुपर्छ |
प्रतिवेदनमा वासलात, नाफा-नोक्सान हिसाब र नाफा नोक्सान बाँडफाँड हिसाब जस्ता विषयका अतिरिक्त नगद प्रवाह, इक्विटीमा परिवर्तन लगायत विवरण यसमा रहेको हुन्छ | त्रैमासिक वित्तीय प्रतिवेदनमा देखिने एकमुष्ट जगेडा कोषमा देखिएको सबै रकम बाँडफाँडको लागि योग्य हुन्न | कुन-कुन रकम बाँडफाँड गर्न मिल्ने भन्ने सन्दर्भमा पूँजीगत जगेडा, शेयर प्रिमियम र लगानी समायोजन कोष जस्ता रकम मात्र बाँडफाँडयोग्य हुन्छन | यस्तो रकमको योगदान भने खास धेरै हुन्न | जगेडा कोषमा धेरै देखिने रकम भनेको ‘वैधानिक जगेडा’ हो | यस्तो वैधानिक जगेडाको रकम नियमक (नेपाल राष्ट्र बैंक) अनुमति बिना खर्च गर्न पाइन्न र चुक्ता पूँजीको दोब्बर नभएसम्म निरन्तर यस्तो जगेडा कोषमा रकम जम्मा गरिरहनुपर्छ | खुद आम्दानीको २० प्रतिशतका दरले यस्तो कोषमा रकम छुट्टयाउनुपर्नु कानूनी व्यवस्था छ | त्यसपछि पनि खुद मुनाफाबाट निरन्तर रकम छुट्टयाईरहनुपर्छ |

लाभांश २ वर्षपछि !

ग्रामिण विकास बैंकको आर्थिक वर्ष २०७४/७५ को परिष्कृत (लेखापरीक्षण भएको) वित्तीय विवरण अनुसार कुल जगेडा कोष रकम ३० करोड ७ लाख रहेको छ | यस मध्येको २१ करोड ३७ लाख रुपैयाँ भने बैधानिक जगेडा भएकोले यो रकम बाँडफाँडयोग्य हुन्न |

कम्पनीको जगेडा कोष सम्बन्धि अनुसूची ४.२ मा अन्य जगेडा कोष भन्ने शिर्षकमा २० करोड १५ लाख रुपियाँ देखाइएको छ | उक्त रकम साविकमा कर स्थगन जगेडा कोषमा रहेकोमा नेपाल राष्ट्र बैंकबाट निर्देशन प्राप्त गरे अनुसार उक्त रकमलाई अन्य जगेडा कोषमा रकमान्तर गरेको प्रतिवेदनमा उल्लेख छ | अन्य जगेडा कोषमा रहेको रकमलाई संचित नोक्सानीबाट घटाउँदा कम्पनीको संचित घाटा घटेर २५ करोडमा आइपुगेको छ |

कम्पनीको प्रतिशेयर आम्दानी उल्लेख्य देखिए पनि लाभांश वितरण गर्न भने अझ पनि कम्पनी सक्षम हुने स्थिति बन्न २ वर्ष लाग्नसक्ने अनुमान गर्न सकिन्छ |

दोस्रो त्रैमासिकको दृष्टिबाट ग्रामिण

ग्रामीण विकास बैंकले प्रकाशन गरेको दोश्रो त्रैमासिक वित्तीय प्रतिवेदनलाई आधार मानेर हेर्दा कस्तो देखिन्छ त यसको लाभांश वितरण गर्ने क्षमता त्यसको संक्षिप्त समीक्षा गरौँ |

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ३४ रु. र नेटवर्थ १ सय ५८ छ | यो प्रतिवेदन हेरेर अधिकाँशले गर्ने अनुमान हो अब ग्रामीणले अर्को वर्ष कम्तिमा २२ प्रतिशत लाभांश दिन्छ | तर यो अनुमान सरासर गलत हुन्छ | कसरी गलत हुन्छ भनेर अलमलमा पर्नुहुन्छ |

कसरी गलत हुन्छ यसको विस्तृत बुझ्नको लागि कम्पनीको वार्षिक प्रतिवेदन अध्ययन गर्नुपर्छ | कम्पनीको आव २०७४/७५ को लेखापरीक्षण भएको वार्षिक वित्तीय प्रतिवेदनमा मात्र यस सम्बन्धि विवरण हुन्छ | आव २०७४/०७५ को वार्षिक प्रतिवेदन अध्ययन गर्दा कम्पनी अझसम्म पनि संचित घाटामा रहेको छ | कम्पनीको संचित नोक्सानी २५ करोड रहेको छ |

अर्धवार्षिक प्रगतिलाई हेर्दा वार्षिकरुपमा कम्पनीले २२ देखि २५ करोडसम्म खूद नाफा गर्नसक्ने देखिन्छ | यसबाट साधारण (वैधानिक) जगेडा कोष लगायत अन्य आवश्यक व्यवस्था गर्दा करिब १८ देखि २० करोड खूद नाफा देखिन सक्छ | यसरी हेर्दा संचित घाटा २५ करोड चालु आव २०७५/७६ मा पुरा हुने सम्भावना देखिन्न | यसको लागि एक आर्थिक वर्ष २०७६/७७ पर्खनुपर्ने अनुमान गर्न सकिन्छ | यदि कथम आर्थिक वर्ष २०७५/७६ मा संचित घाटा पुरा गरीहालेमा पनि मुनाफा वितरण गर्न सक्ने रकम हुन्न | गरिएको आम्दानी संचित घाटा पुरा गर्दा सकिईसकेको हुन्छ | यस हिसाबले आर्थिक वर्ष २०७५/७६ र अर्को आर्थिक वर्ष २०७६/७७ मा लगानीकर्ताले मुनाफा पाउने सम्भावना अत्यन्त कम देखिन्छ | आर्थिक वर्ष २०७७/७८ मा भने कम्पनीले मुनाफा वितरण गर्ने क्षमता बनाउन सक्ने अनुमान गर्न सकिन्छ |

कति बाँडला नाफा ?

कम्पनीको अहिलेको पूँजी ६५ करोड रहेको छ | यसमा कम्पनीले थप ५० प्रतिशत हकप्रद जारी गरेर पूँजी थप गर्ने प्रस्ताव पारित गरिसकेको छ र चालु आव भित्र उक्त रकम पूँजीकृत हुने अनुमान गर्न सकिन्छ | यसो गर्दा कम्पनीको पूँजी बढेर ९८ करोड २५ लाख पुग्नेछ र अहिलेको प्रतिसेयर आम्दानी २२ रुपैयाँमा झर्नेछ |

आगामी आर्थिक वर्षमा पनि यहि पूँजी कायम रहिरहने हुँदा यसको आम्दानीमा गुणात्मक वृद्धि आएमा लाभांश बाँड्ने साल आव २०७७/७८ मा यसको प्रतिशेयर आम्दानी ३० रु. अनुमान गर्न सकिन्छ | लाभांश बाँड्ने अनुमानित आव २०७७/७८ मा कम्पनीले पूँजीगत जगेडामा रहेको रकम १० करोड र त्यतिबेलाको चालु आवको खुद आम्दानीबाट करिब २० करोड सहित ३० करोड लाभांश बाँड्न सक्ने पूर्वानुमान गर्न सकिन्छ | उक्त साल कम्पनीले १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश सहित ३० प्रतिशत लाभांश बाँड्न सक्छ |

No comments: